काठमाडौं, २ कात्तिक– दुई महिनाअघि सरकार परिवर्तन गर्न एक पटक जुर्मुराएको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस राष्ट्रिय राजनीतिका मुख्य प्रश्नहरुमा यतिबेला मौन छ । प्रमुख सत्तारुढ भएर पनि संविधान कार्यान्वयनको मुख्य कार्यसूचीका विषयमा मौन रहेको कांग्रेसमा नेपाललाई हिन्दु राज्य बनाउने अभियान भने निर्णायक रुपमा अघि बढेको छ ।
संविधान कार्यान्वयनका मुद्दामा सिंगो कांग्रेसको मौनता र त्यस भित्र उठेको हिन्दु राज्य अभियानले कतै कांग्रेस पनि हिन्दु राज्यको नयाँ मुद्दा अघि सारेर संविधान कार्यान्वयनलाई अवरोध गर्ने पक्षमा त छैन भन्ने प्रश्न उठेको छ । किनकि यतिबेला कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा सञ्चालित अभियान र विश्व हिन्दु महासंघको नेपाल र भारत च्याप्टर आयोजक रहेको राष्ट्रिय विराट हिन्दु महाभियानको अधिकांश मुद्दा मिल्छन् ।
कांग्रेसका महामन्त्री शशांक कोइरालाले पनि जनमत संग्रह नगरी धर्मनिरपेक्ष राज्य बनाइनु गल्ती रहेको वताउँदै नेपाललाई हिन्दु राष्ट्र नै बनाउनु पर्ने वताउँदै आएका छन् । सभापति देउवा चुप लागे पनि महाधिवेशनका बेला उनका शक्तिसाली समर्थक खुमबहादुर खड्काले महासमिति बैठक राखेर कांग्रेसलाई हिन्दु राष्ट्रको समर्थनमा अगाडि सार्ने घोषणा गरेका छन् । हुन त देश हिन्दु राज्य होस् कि धर्म निरपेक्ष होस्, गणतन्त्र होस् कि राजतन्त्र होस् त्यसप्रति कुनै मतलव नभएका देउवा पाँचौं पटक कसरी प्रधानमन्त्री हुने भन्ने ध्याउन्नमा छन् । त्यसैले उनले संविधान कार्यान्वयनका विषयमा होस् वा हिन्दु राष्ट्र वा संविधान संशोधन लगायतका विषयमा होस् कुनै प्रतिक्रिया दिने गरेका छैनन् ।
पूर्व राजा ज्ञानेन्द्रका सहयोगीको रुपमा चिनिएका पूर्व जर्नेल हेमबहादुर कार्की र भरतकेशर सिंह प्रमुख हर्ता कर्ता भएर बिहीवार सुरु हुने विराट हिन्दु महाभियानको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले पशुपतिको बनकालीमा गर्दैछन् । सो कार्यक्रमका लागि वितरण गरिएको निमन्त्रणामा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीरविक्रम शाह’ भनी सम्बोधन गरी पूर्वराजा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा राखिएको छ । नेपालमा मात्र होइन नेपालस्थिति कुटनीतिक नियोगहरुलाई पठाइएको निमन्त्रणा पत्रमा पनि श्री ५ महाराजधिराज भनी राजाकै हैसियत प्रयोग गरिएको छ ।

0 comments:
Post a Comment