‘वडा नम्बर ६’ हो ह्याङओभरले छोडेको कहाँ थियो र? दिमागमा त्यसकै पात्रहरु अनि मनमा त्यसकै संवादहरु छरपष्ट थिए। अनि थियो, फिल्म चलाउँदा आइपर्ने बाहिरी अप्ठ्याराहरु। वडा नम्बर ६ चलाउँदा नाकाबन्दीको चपेटाले फिल्मलार्ई नराम्ररी नै गाँज्यो। तर पनि फिल्म चल्यो। समीक्षात्मक र व्यवसायिक रुपमा सकारात्मक रहेको वडा नम्बर ६ पछि त्यो भन्दा पनि राम्रो फिल्म बनाउनु टिमको लागि चुनौती मात्र हैन एक किसिमले अप्ठ्यारो नै थियो।
तैपनि, एकदिन दीपक दाइ (दीपकराज गिरी) ले जक्सनमा बोलाउनु भयो। जक्सन यस अर्थमा कि हामीले वडा नम्बर ६ को धेरै हिस्सा पनि त्यही रेस्टुरेण्टमा बसेर सकेका थियौं। एउटा मसला चियालार्ई दुइटा पारेर त हामीले कति खायौं कति। पछि दीपक दाइले चिया भन्ने बित्तिकै वेटर बहिनीले ‘एउटालार्ई दुइटा बनाउने हो?’ भनेर सोधिहाल्थिन्।
दीपक दाइ भन्नुहुन्थ्यो, ‘अँ त्यही।’
चियासँगै हामीले सुरु ग¥यौं, विषयवस्तुको उठानलार्ई। कुन विषयलाई उठाउँदा राम्रो होला? मनमथिंगल घुम्यो। वडा नम्बर ६ मा एउटा अयोग्य लडाकु र तिनलाई लागेको मुद्दाको गम्भीर विषय उठाएर यो पाली फिस्स हुनेखालको कुनै विषयमा काम गर्ने रहर हामी कसैलाई थिएन। तर हामीलाई के विश्वास थियो भने कथा भनेको विषयवस्तुले भन्दा पनि लेखनले राम्रो बनाउने हो। त्यसैलाई मुल मन्त्र बनाएर ४, ५ वटा विषयवस्तुमा छलफल सुरु भयो। एउटा विषय जितु दाइ (जितु नेपाल) लाई दिइयो, एउटा मैले लिएँ अनि अर्को दीपक दाइले लिनुभयो। त्यतिबेलासम्म केदार दाइ (माग्ने बुढो) आफ्नो काम व्यस्तताले टिमको छलफलमा आउन सक्नु भएको थिएन।
जब मंसिरको एउटा पारिलो दिन अनामनगरको आमा सरस्वती गीतादेवी फिल्मस्को अफिसमा भेट भयौं र आ–आफ्नो विषयमा बनेका कथाहरु सुनायौं। त्यसपछि एउटा निष्कर्ष निस्कियो, यसपाली वैदेशिक रोजगारी र त्यसले निम्त्याएको सामाजिक समस्यामा फिल्म बनाउँ। दीपक दाइले त्यही विषयलाई कथामा ढाल्नुभएको थियो। त्यही कथा सुनेर आवश्यक छलफल गरेपछि फिल्म लेखनको अर्को यात्रा सुरु भयो।
दीपक दाइबाट सुरु भयो पटकथा लेखन। उहाँले पशुपतिको भीडमा २ महिना बसेर पटकथामा मन्थन गर्नुभयो। मान्छेको भीड हैन, बाँदरको भीड। जब पटकथा लेखनले एउटा आकार लियो तब त्यसलाई छलफलद्वारा काटकुट पारेर एउटा फ्रेममा राखियो। तबचाहीँ तनाव सुरु भयो । यता काट्दा उता नमिल्ने उता जोड्दा यता नमिल्ने। पुरुषोत्तम प्रधानजीलाई फाइनल पटकथा सुनाइयो। उहाँले मन पराए पनि अलि नाक खुम्चाए जस्तो लाग्यो। उहाँले नाक खुम्च्याउनु भनेको दर्शकले पनि नाक खुम्च्याउनु हो भनेर फेरि पटकथामा हल्का परिवर्तन गरियो। दीपा दिदीले सुनेपछि भन्नु भो, ‘महिला हिंसा अलि बढी भयो।’
फिल्म समाजको ऐना हो, समाज जस्ताको तस्तै देखाइदेको, दीपक दाइले हाँसो गर्नुभयो।
कुरो ठीक, तर परिवर्तन गरे राम्रो। दीपा दिदीले डाइरेक्टरको टाँठबाँठसहित भनेपछि हामी सोचमग्न भयौं।
फिल्ममा एउटा पुरुषको महिला र बिहेप्रति हेर्ने घटिया आनीबानी र त्यसले उसको जीवनमा निम्त्याउने परिणामलाई देखाउन खोजिएको छ। पटकथामा सामान्य परिवर्तन गरेपछि दीपा दिदीकै चस्माबाट फेरि पटकथामा छलफल भयो। उहाँले भन्नुभयो, ‘पात्रहरु चाहीँ किन यस्ता घर भाँडा नि सबै, बाँदरजस्ता?’
‘पशुपतिको डाँडामा, बाँदरको भीडमा फुरेको भएर होला,’ दीपक दाइले ठट्टा गर्नुभयो।
‘यो भगवानको रोल कसले गर्ला त?’, दीपा दिदीले फेरि सोध्नुभयो।
दीपक दाइले भन्नुभयो, ‘थाहा छैन अहिलेसम्म त, तर मलाई सुहाउला।’
दीपा दिदीको हाँसोको फोहोरा छुट्यो।
‘पक्कै पनि सुहाउला। उसो भए तिमी नै गर यो राजा अर्थात् भगवानको रोल,’ दीपा दिदीको हाँसो रोकिएको थिएन।
त्यहीँबाट दीपक दाइले आफूलाई राजाको रुपमा हेर्न थाल्नुभयो। तर सिंगै संवादको पाटो त बाँकी नै थियो। जुन कामको लागि दीपक दाइ, जितु दाइ, माग्ने दाइ र म कतै गएर लेख्नुपर्ने थियो।
२०७२ को माघ १८ गते लागियो, गोकर्ण रिसोर्टतिर। साँझ ८ बजेतिर गोकर्ण रिसोर्ट प्रवेशद्वार पुगियो। पुग्नुअघि गोकर्ण रिसोर्टको तल रहेका गार्डले चार कप चिया खुवाए। साह्रै मीठो। आफ्ना प्रिय कलाकारहरुलाई चिया खुवाउन पाएकोमा गार्ड दाइ खुसी देखिए। त्यति बेला लाग्यो, खुसी भन्ने चिज लिएर मात्र हैन दिएर पनि पाइने रहेछ।
भोलिपल्टबाट सुरु भयो खास परीक्षा। चार जना एउटा कोठामा थुप्रिएका थियौं। न्यानो र तातो गोकर्ण रिसोर्टको कोठामा तात्न थाले कलमहरु। पहिलो सिनमा केही न्यारेसन लेख्नु पर्ने थियो। दीपक दाइ एकातिर फर्किनु भयो, म अर्कोतिर। केदार दाइ र जितु दाइ अर्कोतिर। एकछिन घोरिएपछि माग्ने दाइ कराउनु भयो, ‘त्यसका बाजे! सकियो।’
६क्का पन्जा' लेखन टोलीका सदस्यहरु- बायाँबाट क्रमश: अभिमन्यु निरवी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल। यस लेखका लेखक अभिमन्यु निरवी हुन्।
दीपक दाइले मतिर हेर्नुभयो। मैले पनि भनेँ, ‘सकियो।’
अनि सबले पालै–पालो आफूले लेखेको कुरा सुनाएपछि कुन चाहीँ राम्रो लाग्यो भनेर छलफल गरियो र राखियो यो लाईनः
‘यो सबै गाउँको प्रतिनिधी गाउँ। पहिला याँका मान्छेहरुसँग खल्तीमा सुको हुन्थेन। अहिले ब्यांकमा एकाउन्ट मात्र हैन महंगो मोबाइलमा फेसबुक एकाउन्ट पनि खोलेका छन्। कारण, वैदेशिक रोजगारी। सबको सपना विदेश।’
अर्को दुई–तीनवटा सिन लेख्न पाएको छैन, जितु दाइको मोबाइल बज्यो। जितु दाइ मोबाइलमा प्रायः व्यस्त हुने मान्छे। त्यहाँ नि कल आउन थालेपछि दीपक दाइले भन्नु भयो, ‘गुरू, फोनचाहीँ अफ गरुँ।’
‘गुरू यो बुढीको फोन, एकैछिन है’, जितु दाइ कुरा गर्न थाल्नुभयो।
हामी कुर्न थाल्यौं। जितु दाइले मोबाइल अफ भएको संकेत गर्दै अब लेखन सुरु गर्ने भन्न नभ्याउँदै एकैछिनमा फेरि फोन बज्यो।
जितु दाई हाँस्दै फेरि ‘एकछिन है’ फोनमा कुरा गर्न थाल्नुभयो।
‘गुरू, खै त फोन अफ?’ जितु दाइले फोन राखेपछि दीपक दाइ थोरै कडा सुनिनुभयो।
यसपालीचाहीँ पक्का तरिकाले साइलेन्समा राख्दै भन्नुभयो, ‘अफ गर्दा धेरै मान्छेको फोन मिस हुन सक्छ, बरु सकिन्छ भने तपाईंहरुले पनि मैले जस्तै गर्दा राम्रो।’
माग्ने दाइले जितु दाइको क्यारिकेचर गर्दै जिस्काउनु भयो, ‘हस गुरू! अब तपाईंले भनेको मानेर बुढीको गाली खानु छ र? मैले काममा हुन्छु, मोबाइल अफ हुन्छ भनिसक्याछु। मोबाइल अफ भएन भने के हुन्छ परिणाम?’
हामी सब हाँस्यौं र सुरु ग¥यौं अर्को सिन लेख्न।
संवाद लेख्ने क्रममा सबले बुद्धिलाई मात्र ठाउँ दिन थालेपछि हामी सबै छक्क पर्यौं। खासमा ‘हैट’ भन्ने शब्द अगाडि लगाएर संवाद लेख्न मज्जा आएकोले सबले त्यसको भरपुर उपयोग गरेका थिए। पछि फेरि सबै सम्हालिए। हैटको संवादलाई कम गरेर अरुहरुको संवाद जोडियो। संवाद लेख्दा सबभन्दा रमाइलो के हुन्थ्यो भने, दीपक दाइ, माग्ने दाइ र जितु दाइ कलाकार नै भएकोले उहाँहरुले हाउभाउसहित त्यो प्रस्तुत गर्दा हाँसोको फोहोरा छुट्थ्यो। कोठाभित्र बसेर दिन बितेको पत्तै पाइन्नथ्यो।
भोलिपल्ट अति भएर मैले भनेँ, ‘दाजु हामी यो गोकर्ण रिसोर्टचाहीँ किन आ’को?’
‘स्क्रिप्ट लेख्न,’ हाँसोसहित दीपक दाइको जवाफ आयो।
‘मेरो मतलब, भित्रै थुप्रिने भए त अन्तै कोठामा बसेर लेखेको भए पनि त हुन्थ्यो नि।’
‘दिमागमाथिको धाँधली हो के यो। कतै ननिस्के पनि कमसेकम दिमागले गोकर्ण रिसोर्टमा छु भनेर सोची त रहन्छ। चारैतिर हरियाली, मृगहरु उफ्रिरहेका, चिसो हावा,’ दीपक दाइले यसो भनिरहँदा माग्ने दाइ कोठामा हुनुहुन्नथ्यो। उहाँ ट्वाइलेटतिर हुनुहुन्थ्यो। त्यतिबेला उहाँलाई निकै नै ट्वाइलेट धाउनुपथ्र्यो। अहिले बुझ्दैछु, त्यही रोगले उहाँलाई अहिले गाँजेको छ। तर उहाँले कहिले हिम्मत हारेको मैले देखिन। लेख्न बस्यो कि उहाँको अर्को अवतार देख्न पाइन्थ्यो।
चार जना साथीहरु रक्सीले मात्तिने सिनमा माग्ने दाइले हिटलरले रक्सी खाएर स्वास्नी पिटेको कुरा निकाल्नुभयो। मलाई त्यो कुरा मनै परेन। नभएको कुरा भनेर दर्शक त हाँस्लान् तर कसरी विश्वास गर्न सक्छन् भन्ने मेरो प्रश्न थियो। तर माग्ने दाइलाई मलाई बुझाउन खोज्नुभयो, ‘नभएको कुरा भनेर मान्छेलाई अल्मल्याउनु र नभएको कुरालाई बहस गर्नु सिलोगिज्म हो। यो एकप्रकारको कमेडीको फम्र्याट हो। तर पछि त्यो कुराको यथार्थ बताइदिनु पर्छ।’
यही फम्र्याटमा हामीले लेख्यौं हिटलरको कहानी। ‘लावण्य देशको राजा’को कहानी। हरेक फिल्मको लेखनले केही न केही सिकाएर जान्छ। यसले पनि त्यस्तै केही सिकाउँदै थियो।
एकान्तको कुटीमा बस्ने बाबाको संवाद लेख्नु पर्ने सिन थियो। उसले आफ्नो बिहेपछि घर कसरी छोड्यो भनेर दर्शकलाई बुझाउनु पर्ने थियो। त्यसमा हामी सबैले लेख्यौं र सबैले लेखेको एउटा साझा कुरा के थियो भने, गौतम बुद्ध। गौतम बुद्धको प्रसंग सबैले उठाएका थियौं। त्यसपछि लाग्यो, हाम्रो बुझाइ एउटै लाइनबाट जाँदैछ। अन्तिममा त्यो सिन यस्तो भएको थियोः
बाबाः एउटा महान व्यक्तीको कुरा सुनाउँछु, जसले भुलवश एकदिन बिहे ग¥यो। उसको जीवन घनघोर अशान्त भयो। तब एकदिन शान्तीको खोजीमा स्वास्नी घर गृहस्थी सब त्याग गरेर निस्कियो। त्यो को थियो भन?
माग्नेः गौतम बुद्ध्
बाबाः थैट! कहाँ गौतम बुद्ध थियो? त्यो महान मान्छे म थियो।
सरस्वति: ह्या... गौतम बुद्धले नि यस्तै ग¥या त हो नि के फरक छ?
बाबाः फरक छ। गौतम बुद्धले राती घर छोड्नु भो। हामी दिउँसो छोडेछु । ९बाबा हाँस्छ० मुख्य कुरा बुझ न राजा, जीवनमा तनावको मुहान विवाह नै हो। यहीँबाट सुरु हुन्छ, नरक यात्रा। मायाप्रेम यो सब नौटंकी हो।
लेख्दै जाँदा कहिलेकाहीँ लम्बेतान प्रसंगहरु जोडिन्थे र त्यसलाई बीचतिरै काट्नुपर्ने हुन्थ्यो, या भनौं जम्प गर्नुपर्ने हुन्थ्यो। सरस्वति भन्ने पात्र काठमाण्डु पुगिसकेपछि उसले पाउने हण्डर, भगवान र बुद्धिलाई भेट्ने घटनाक्रम निकै नाटकीय छ। त्यो पहिले निकै लामो र घण्टाघरमा भेटाएर लगभग एकले अर्कालाई हिर्काउन खोजेपछि मात्र साथी–साथी चिन्ने घटना थियो। क्लाइमेक्स सुरु हुँदै गर्दा त्यति एउटै कुरा बुझाउन लम्बेतान सिनहरु आवश्यक नहुने भएकोले हामीले माग्ने दाइलाई बुझायौं, उहाँले पनि बुझ्नुभयो। सिनहरु काटिए र चुस्त बनाइए। राम्रो र कमेडी सिनमा हामी कहिलेकाहीँ बहकिन्थ्यौं र लम्बेतान बनाउँथ्यौं।
यो सबै हुँदै गर्दा जितु दाइले भन्नु भयो, ‘गुरू, यसो फर्केर स्क्रिप्ट हेर्दा त घरकी बुढीले कुट्ली जस्तो पो भो त।’
‘किन?’, दीपक दाइले सोध्नु भयो।
महिलालाई नराम्रो त देखाइएन?
कसरी? धोका पुरुषले दिन्छ। जालझेल पुरुषले गर्छ। महिलालाई कसरी नराम्रो देखाइयो? दीपक दाइले स्पष्ट बनाउनु भयो।
माग्ने दाइलाई पनि त्यही कुरा लागेछ। हैन भगवानले केटी खेलाउँदै हिँड्छ नि त, खेलमा सहभागी बनाएर प्रयोग त गरेकै हो है।
मैले भनेँ, ‘यो पुरै फिल्मको मेरुदण्ड भगवान भन्ने पात्रको काँधमा छ, उसको उदेश्य, उसले गर्ने नकरात्मक व्यवहार र काम अनि उसले भोग्ने परिणामले फिल्मलाई ब्यालेन्स गर्छ, अतीतकी श्रीमती बिन्दाले भगवानलाई पहिलेदेखि मन पराउँछे र तन–मन सुम्पिन्छे, ऊ आफ्नो श्रीमान विदेश जाँदैमा भगवानसँग नजिकिएकी हैन, भगवान नै त्यो मौकाको उपयोग गर्न अघि सरेको हो। त्यसो गर्दा कसरी महिलालाई नराम्रो देखाइयो? चम्पा भन्ने पात्र यति शशक्त छ कि उ सधैं महिला हिंसाको विरुद्धमा उभिन्छे, अनि कसरी महिलालाई नराम्रो देखाइयो?’
मैले बुझाउन सकेँ कि सकिन? तर सबै सोचमग्न देखिए।
भगवान एउटा प्रोटागोनिष्ट हो र दर्शकहरुले उसलाई नै पछ्याउँछन् र उसकै माध्यमबाट सन्देस पनि लिन्छन् भन्ने हाम्रो अनुमान थियो। यो अनुमान मात्र हैन, हाम्रो विश्वास पनि थियो। धेरै हदसम्म हाम्रो विश्वास मिलेको छ।
चार दिन लगाएर स्क्रिप्ट फाइनल गरेर हामी काठमाडौं फर्कियौं र अर्को १० दिन लगाएर फिल्मलाई चौंथो ड्राफ्टसम्म लेखेर बन्द ग¥यौं। यो प्रोडक्सन टिमको सबभन्दा गज्जब कुरा के लाग्छ भने फिल्डमा गएर स्क्रिप्ट चेन्ज गर्न हुन्न भन्ने कुरामा यो टिम निकै विश्वास गर्छ। सामान्य संवादमा यता उता भयो होला तर फिल्म हलसम्म आइपुग्दा स्क्रिप्ट भन्दा तल माथि भएको छैन।
स्क्रिप्ट भइसकेपछि फिल्मको नाम के राख्ने भन्नेमा सबभन्दा ठूलो अन्योल थियो। निर्देशक दीपा दिदीसँग बसेर छलफल गर्दा धेरै नामहरु आए। मलाई सबभन्दा मन परेको नाम थियो, लप्पन ६प्पन। लप्पन ६प्पन नै राख्ने भनेर सबैको सल्लाह भयो। फेसबुक स्टाटस पनि लेखियो तर त्यो नाम अर्कै कम्पनीको नाममा दर्ता भइसकेको थाहा पाएर हामी निकै खिन्न भयौं र पछि नाम राखियो, छक्का पन्जा।
यो नाम ठीकै मात्र लागेको थियो, तर आजसम्म आइपुग्दा यो नाम यति सुन्दर लागिरहेको छ कि सायद यो फिल्मको लागि यो नै सही र उत्कृष्ट नाम थियो।
(लेखक ६क्का पन्जा लेखन टोलीका एक सदस्य हुन्। उनको लेखनमा यसअघि अन्तराल, श्री ५ अम्बरे , वडा नम्बर छ फिल्म रिलिज भइसकेका छन् भने हालसालै 'साउने झरी' नामक कथा संग्रह पनि बजारमा आएको छ।)
From Setopati

0 comments:
Post a Comment