लाचार, विवश, उजाड र उर्जाविहीन प्रचण्ड

नेपालमा अहिले सबैभन्दा लाचार मानिस कोही छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन् । उनको लाचारीको कुनै सीमा नै छैन । अनेक कामका एजेण्डाको भारी बोकेर प्रधानमन्त्री बनेका प्रचण्डले न केही काम गर्न सके, न गर्न सक्नेवाला नै छन् । अगाडि पछाडि मात्र होइन चारैतिर तगारो छ उनको । पाइलैपिच्छे खाडल छ । दायाँ पहिरो छ, बायाँ भीर छ । अगाडि जाने ठाउँ छैन, पछाडि फर्किन सम्भव छैन । यति लाचार अवस्थाका प्रधानमन्त्री विरलै देख्न पाइएको थियो ।अहिले मुख्य सत्ता साझेदार नेपाली कांग्रेस हो । यो पार्टी सरकारमा छ कि छैन थाहा पाइँदैन । सरकारको काम कारवाहीमा कांग्रेसले न काँध थापेको छ, न खुट्टा नै तानेको छ । कुनै प्रतिक्रिया छैन ।

सत्ता साझेदार भएपनि कांग्रेस चुपचाप बसेको छ । मुख्य सत्तासाझेदार नै मौन बस्नुभन्दा ठूलो असहयोग के हुनुसक्छ ? प्रधानमन्त्री प्रचण्डको मुख्य कार्यभार स्थानीय चुनाव गराउनु हो । चुनावको बाटोको एउटा तगारो समेत उनले पन्छाउन सकेका छैनन् । चैतमा स्थानीय चुनाव गराएर शेरबहादुर देउवाका लागि कुर्सी छाडिदिने सर्तमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् भन्ने जगजाहेर छ तर चैतमा चुनाव नहुने पनि झनझन प्रष्ट हुँदै गएको छ । अर्थात्, भविष्यमा प्रचण्ड कसरी असफल बन्छन् भन्ने अहिले नै देखिन थालेको छ ।

प्रचण्डलाई प्रतिपक्षी नेकपा एमाले र यसका अध्यक्ष केपी ओलीले कडा प्रहार गरिरहेका छन् । ओलीको निरन्तर प्रहारको दह्रोसंग प्रतिरक्षा गर्न प्रचण्डले सकेका छैनन् । उनलाई प्रतिरक्षा गर्न माओवादी केन्द्रका नेताहरुको टिम पनि अगाडि सरेको देखिंदैन । प्रतिपक्षले प्रहार गर्दा सत्ता साझेदार कांग्रेस चुपचाप बसेको छ । प्रचण्ड र सरकारमाथि ओलीको प्रहारमा शेरबहादुर देउवा आनन्द मानेर बसिरहेझैं गरिरहेछन् ।

कांग्रेसले पनि काँध नथाप्ने, पार्टीले पनि दह्रो साथ नदिने, प्रतिपक्षी दलहरुको कडा प्रहार ब्यहोर्ने ! सन् २०१६ सेप्टेम्बर १८ मा सैनिक क्याम्प उरीमाथि पाकिस्तानी ‘‘आतंककारी आक्रमण’’मा १८ भारतीय सैनिक मारिएपछिको विकसित घटनाक्रमले भारतले समेत विश्वास नगर्ने । अर्थात्, प्रचण्डको राजनीतिक हालत निकै खराब हुँदै गएको छ ।

लाचार र कमजोर प्रधानमन्त्री देशको हितमा हुँदैन । प्रतिपक्षले विरोध गर्ने एउटा कुरा भयो, सत्तापक्षमै रहेकाहरुले प्रधानमन्त्रीलाई किन झनझन कमजोर देखाउने प्रयास गरिरहेका हुन् ? बुझिनसक्नु भएको छ । प्रचण्ड आफै पनि कामभन्दा कुरा धेरै गरिरहेका छन् । बोलेको केही पुर्‍याउन सकिरहेका छैनन् । दुई दल, तीन दल र धेरै दलको बैठक उनले धेरै पटक बोलाइसके तर कसैले उनको कुरा सुन्दैनन् । प्रधानमन्त्रीका रुपमा उनले कमाण्ड गर्न पनि सकेका छैनन् । निर्देशन माथि निर्देशन जारी गर्ने तर आफ्नै मन्त्रीहरुले नटेर्ने, राजनीतिक पहलकदमी हातमा लिन पनि नसक्ने लाचार अवस्थामा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् ।

प्रचण्डको लाचारीका पछाडि उनी तेस्रो दलको नेता हुनु एउटा कारण मात्र होइन । उनले बलियो बन्न खोजेको पनि देखिंदैन । उनी प्रधानमन्त्री जस्तो नभएर प्रधानमन्त्रीको छायाँ मात्र हुन् कि ? प्रश्न उठाउन सकिन्छ । उनी प्रधानमन्त्री प्रधानमन्त्री बनेको ६१ दिन भयो तर यो कालखण्डमा उनले आफ्नो उपस्थिति र औचित्य सावित गर्न सकेनन् । उनी जुन पृष्ठभूमि निर्माण गरेर प्रधानमन्त्री बनेका थिए, त्यो पृष्ठभूमिलाई अगाडि बढाउन उनले संविधान संशोधन गर्न नसके पनि संशोधन विधेयक दर्ता गराउन सक्नुपर्दथ्यो । यति काम पनि गर्न सकेनन् । अर्थात, प्रशासनिक दृष्टिले मात्र नभएर राजनीतिक दृष्टिले समेत प्रधानमन्त्री प्रचण्ड निकै कमजोर देखिएका छन् ।

यी उनै प्रचण्ड हुन् जो जनयुद्धको अन्तिमकाल र लोकतन्त्र आएपछि सर्वशक्तिमान ठानिन्थे । गिरिजाप्रसादसंग उनको तुलना हुन्थ्यो । नेता होइन राजनेता बन्छन् भन्ने ठानिन्थ्यो । प्रचण्डले सरकार चलाए भने देश विकास, कर्मचारी प्रशासन र शान्ति सुरक्षामा चमत्कार नै गर्छन् भन्ने गरिन्थ्यो ।

आज उनै प्रचण्ड सत्तामा छन् र सत्तामा बसेको उनको सानो घेरालाई भन्दा आम जनतालाई महसुस नै हुन सकेको छैन । पञ्चायतकालमा नगेन्द्रप्रसाद रिजाललाई सबैभन्दा कमजोर प्रधानमन्त्री भन्ने गरिन्थ्यो । आज प्रचण्डको हालत लोकतन्त्रकालको ‘नगेन्द्रप्रसाद रिजाल’ जस्तो भएको छ । सामान्यतया संसदीय लोकतन्त्रमा तेस्रो दल असाध्यै शक्तिशाली हुन्छ ।

दुई ठूला दललाई जुधाएर बजाएर दुवैको समर्थन लिने, एउटाले समर्थन नगरे अर्काेको साथ लिने गरेर तेस्रो दलले राईंदाईं गर्ने गर्छ । विगतमा राप्रपाले यस्तो कौशल देखाइसकेको हो तर प्रचण्डमा त्यस्तो कौशल किन देखिएन ? जबकि उनी विलक्षण रणनीतिकार मानिन्थे । उनको रणनीति सबैले किन हावा खायो ? उनको साहस र आँट सकियो त ? हारेका, थकित, गलित र लाचार प्रचण्ड सिर्फ प्रधानमन्त्रीको कुर्सीमा बसेका छन्, उनमा कुनै उर्जा देखिंदैन । विगतका उर्जावान प्रचण्डको ठाउँमा प्रचण्डको उर्जाविहीन अवतार प्रधानमन्त्री बनेका हुन् कि ?

प्रचण्डले देशमा कुनै आशा जगाउन सकेनन्, उनको अघिल्लो प्रधानमन्त्रीकालमा उनले गर्न नखोजेका होइनन्, जनतामा आशा जगाउन पनि प्रयास गरेका थिए । उनमा आँट, उर्जा र कौशल सबै देखिन्थ्यो । अहिले उनको हालत बुख्याँचाको लाचार अवतार जस्तो छ । होशस हराएको मानिसजस्तो, आश गुमाएर निराश बसेको मानिसजस्तो अवस्थामा प्रचण्ड देखिन्छन् ।

उनमा निर्णय क्षमता पटक्कै देखिएन । सत्ताबाट बाहिरने दिन गनेर बस्ने बाहेक अरु केही नगरी बसे झैं देखिन्छन् प्रचण्ड । उनीप्रति ठूलो जनसमर्थन छैन तर जनताको चर्काे विरोध पनि देखिंदैन । खिलराज रेग्मीले प्रधानमन्त्री पदको काम चलाउँदाभन्दा प्रभावकारी उनको सरकार देखिएन । विविध कारणले प्रचण्ड कमजोर प्रधानमन्त्री नै सावित हुनेवाला थिए र भइरहेका पनि छन् । तर, यति उर्जा र उत्साहविहीन प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्छन् भन्ने लागेको थिएन । सिंहदरबारको भित्तामा फेरि फोटो टाँस्ने बाहेक उनले अब केही गर्न नसक्ने नै भएका हुन् त ?
FROM saajhakhabar
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment