फ्रिमा जानेलाई विदेशमा राम्रो काम र कमाई, लाख भन्दा धेरै तिर्नेलाई न काम न कमाई

मेरो घर कैलालीको लम्की । तीन वर्ष अघि म विदेश जाने सोच बनाउँदै थिएँ । त्यति बेला साउदी अरवको बर्गर किङ्ग फाष्टफुड रेष्टुरेण्टले ६२ जना कामदारको माग्यो । त्यो माग रेज रेक्रुमेन्ट प्रालिले ल्याएको थियो । त्यसैले मैले पनि त्यही काममा जाने निर्णय गरें । म्यानपावरले मलाई एक हजार साउदी रियल बेसिक तलब र चार घण्टा ओभरटाईम गरी एक हजार चार सय मासिक तलब भनेको भन्यो । मैले त्यो काम र तलवका लागि १ लाख ५ हजार रुपैयाँ तिरें र २०७० मंसिरमा साउदी अरब गएँ ।
तर साउदीअरब पुगेपछि मैले ओभरटाईम पाइन । भनेजति बेसिक तलव पनि मैले एक वर्षसम्म मात्रै पाएँ । खान बस्नभित्रै भनिएपनि आफै व्यवस्था गर्नुपथ्र्यौ । काम गर्ने समय आठ घण्टा भनिएको थियो तर रेष्टुरेन्ट खुलेदेखि बन्द नभएसम्म गर्नुपथ्र्यो । तर ओभर टाईमको तलब जोड्दैनथ्यो ।

केहि महिनापछि अरु ३२ जना नेपाली पनि त्यही रेष्टुरेन्टमा काम गर्न आए । उनीहरु फ्रि भिसा फ्रि टिकटमा आएका थिए । उनीहरुले आठ घण्टा काम गर्थे र आफ्नो होस्टेलमा फर्किन्थे । उनीहरुले आठ घण्टा भन्दा बढि काम गरे ओभर टाईम पाउँथे । खान बस्नको लागि रेष्टुरेन्टले नै व्यवस्था गरेको थियो । तर १ लाख भन्दा धेरै तिरेर गएको मैले न भनेको तलब पाएँ न त सेवा सुविधा नै ।
एक वर्ष वितेपछि म र मसंगै काम गर्न थालेका नेपालीहरुलाई अर्कै होटलमा काम गर्न लगियो । हामीले सप्लाईमा काम लगाएको थाहा पायौं । त्यसपछि हामीले घर फर्काइदेउ भन्दा भन्दै जवरजस्ती थप एक वर्षको एग्रिमेण्ट गरायो । त्यसपछि पनि हामीले घर फर्किन्छौं भन्यौ । त्यति बेला त झन ५ हजार रियल देउ देउ पो भन्यो ।
अर्को होटलले पनि त्यसै गरी काम लगायो अनि ओभर टाईम पनि दिएन । तीन महिनाको तलब दिएपछि तलब दिन छोड्यो । ११ महिनासम्म तलब नपाएपछि खानबस्न समेत गाह्रो भयो । कैयौं पटक भागेर आउने प्रयास ग¥यौं । तर भागेर रोड पुग्यो भने पुलिस बोलाएर जेल हाल्छु भनेर होटेलवालाले धम्की दिन्थ्यो । हामी गुनासो र आफनो समस्या लिएर दुतावासमा पनि गयौं तर त्यहाँ पनि हाम्रो गुनासोको कुनै सुनुवाई भएन ।

केहि उपाय नलागेपछि मैले साउदीअरबमा घर फर्काउने एजेन्टलाई घरबाट एक हजार आठ सय रियल मगाएर दिएँ । एजेन्टले साउदीअरबको पुलिसलाई पक्रिन लगायो । पुलिसले १६ दिनसम्म जेलमा राख्यो । पुलिसले गैरकानुनी रुपमा बसेको भनेर रिपोर्ट बनायो र एक्जिट भिसा बनाएर घर पठाइदियो । यसरी म २०७२ चैत ८ गते साउदी अरबबाट घर आइपुगें ।
म साउदी जानुभन्दा अघि गाउँमा इलेक्ट्रिसियन थिएँ । गाउँमा वायरिङको काम गर्दा कमाई राम्रै थियो । तर सधै काम हुन्थेन । साथीहरु पनि विदेश जान थालेका थिए । उनीहरुले पनि जाउँ भने पछि फिक्स कमाई हुन्छ भनेर म पनि पछिपछि लागे । तर दुःख पाएर आइयो । विदेशमा हण्डर खाएपछि अब भने गाउँमै पुरानै पेसा गरेर बस्ने सोच बनाएको छु ।
(कैलाली संचार प्रतिष्ठान नेपालका सामाजिक परिचालक मुकेश चौधरीसंगको कुराकानीबाट)
Source Ujayloonline
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment