प्रचण्डलाई खुल्लापत्र: ‘प्रधानमन्त्रीज्यू तुरुन्त भारत जानुस्’

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू,
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौं

प्रधानमन्त्रीज्यू,
देश र जनताको हालचालबारे त सायद तपाइँ पनि जानकार नै हुनुहुन्छ, त्यसैले धेरै भूमिका नबाँधी सिधै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु ।

व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन सकिएर परिणाम घोषणा भएलगत्तै एमाले भातृ संगठन प्रेस चौतारीमा आवद्ध एक पत्रकारले फेसबुकमा लेखे, ‘कसले पहिला बधाई र निम्तो दियो प्रचण्डलाई ? जानकारी पाउँ न ! भारत, चीन, युरोपियन यूनियन …….. ?’ उनको मनसाय र निसाना प्रष्टै थियो । कमेन्टमा लेखेँ, ‘ओली काम्रेडको पालामा जस्तै यसपटक पनि भारतले नै उछिनेछ । बडो फरवार्ड छन् हाम्रा छिमेकी !’

साँच्चै हो, यी छिमेकी अचम्मकै चलाख छन् । हाम्रो देशको प्रधानमन्त्रीलाई आफ्नै जन्ममिति उनले ट्वीट गरेपछि थाहा हुन्छ । नेपालमा भूकम्प गएको कुरा विदेश भ्रमणमा रहेका प्रधानमन्त्रीले उनकै ट्वीटबाट थाहा पाउँछन् । भित्र जे जस्तो व्यवहार गरे पनि बाहिर देखाउने कुरामा कुनै कसर छाड्दैनन् यिनले ।
फोन गरेर बधाइ दिने क्रममा यिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो पनि दिएको सुनेँ । त्यसपछि उकुस-मुकुस भयो, त्यसैले अब तपाईं तुरुन्त भारत जानुपर्‍यो, भनेर यो पत्र लेख्दैछु । किन यति चटारो भन्नुहोला, कारण बिस्तारमा प्रष्ट्याउन चाहन्छु ।

रामचन्द्र भण्डारी
रामचन्द्र भण्डारी
मेरो एकजना नजिकको आफन्त हुनुहुन्छ, उहाँको आत्मसम्मानका लागि सम्बन्ध नखुलाउँ । उहाँ निकै नै कडा स्वभावको हुनुहुन्छ । सानो निहुँ पाए पनि झगडा गरिहाल्नुहुन्छ । वल्लो-पल्लो घरमा कतै बोलचाल हुँदैन । परिणाम उहाँको घरमा मेला-पर्म लगाउन आउने मान्छेको सधैँ कमी हुन्छ । घरमा पर्व वा कुनै कार्य पर्दा छिमेकीहरुले खुलेर सहयोग गर्दैनन् । छिमेकीहरुसँग झगडाले न त उहाँलाई फाइदा भएको छ, न त छिमेकीहरुलाई नै ! भएको छ त केवल कोलाहल, बेमेल र छिमेकमा तनाव ।

यो प्रसंग मैले किन उल्लेख गरेको भन्ने प्रष्ट पार्न अर्को एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । दक्षिण एसियामा भारतले आफूलाई सर्वेसर्वा ठान्छ । उसको नजरमा ‘ऊ ठूल्दाइ हो, अनि अरु सबै भूराभूरी हुन् ।’ यही सब-कन्टिनेन्टमा अन्य दुई मुलुक छन्, भारतसँग उनीहरुको सम्बन्ध उदाहरणको रुपमा प्रस्तुत गर्न लायक छ । मैले प्रसंग उल्लेख गर्न चाहेका मुलुकहरु पाकिस्तान र भूटान हुन् । एकातिर पाकिस्तान छ, भारत र पाकिस्तान सधैँ झगडा गरिरहन्छन् । सीमानामा तनाव नभएको दिन सायदै होला । दुवै मुलुकका नागरिकहरुले पनि एकअर्कालाई संसारकै सबैभन्दा ठूलो दुश्मन मान्छन् । परिणाम बर्सेनि खर्बौं रुपैयाँ दुश्मनीकै कारण खर्च हुन्छ । सयौँ नागरिकले यही लडाईंमा ज्यान गुमाएका छन् । फाइदा नगन्य छ, घाटा सतहमै छरपष्ट भेटिन्छन् ।

अर्कोतर्फ भूटान, जो भारतको उपनिवेशजस्तै हो । देशको स्वाभिमान नै दिल्लीमा छ । बदलामा आर्थिक विकास त भएको छ । तर, राष्ट्रिय स्वाभिमानबिनाको विकास के काम ? नेपालमा पनि यही दुई स्वार्थ बाझेको छ ।

भारत हामीलाई भूटानजस्तै बनाउन चाहन्छ, हामी पाकिस्तान बन्न खोजिरहेका छौँ । हाम्रालागि यी दुवै प्रकारका सम्बन्ध स्वीकार्य छैनन् । हामी भारतसँग औपनिवेशिक सम्बन्ध होइन, एउटा स्वाभिमानी र समान हैसियतको छिमेकीको सम्बन्ध चाहन्छौँ । हामी भारतविरोधी राष्ट्रवादी होइन, देशप्रेमी राष्ट्रवादी बन्न चाहन्छौँ । हामी भारतसँग दुश्मनी होइन, असल छिमेकीको सम्बन्ध चाहन्छौँ ।
त्यसैले भन्दैछु सम्माननीय प्रधानमन्त्रीज्यू,
अब तपाईं तुरुन्तै भारत जानुहोस् । अनि भन्नुहोस्, नेपाली जनता तपाईंहरुको उपनिवेश र दुश्मन दुवै बन्न चाहँदैनन् । एउटा असल छिमेकी बन्न चाहन्छन् । चेन्नाइमा बाढी आउँदा कम्मल बोकेर हामी तुरुन्तै आउन सकौँ, हाम्रातिर भूकम्पले हल्लाउँदा यताबाट सहयोग पुग्ने अवस्था होस् ।

अनि सुनाउनुहोस् यहाँको स्थिति । भनिदिनुस्, ‘अथिति देवो भव:’ भन्ने मन्त्रलाई मूलमन्त्र मान्ने नेपालीहरु तपाईंका राजदूत गाउँबस्तीमा पुग्दा कालोझण्डा र ढुंगामुढा लिएर स्वागतमा उत्रिन्छन् ! यस्तो हुनुमा तपाईंहरुको कुनै दोष छैन ? नेपालमा बढ्दो भारतविरोधी भावनामा भारतको कुनै हात छैन ?

भारतीय मिडियाहरुले आफ्नो भने, आफ्नै देशका नागरिकहरुले मोदीसँग जोडेर फेसबुकमा फोटो भाइरल बनाएका छन् । तर कत्ति पनि विचलित नहुनुहोस् । जानुस् भारत, अनि भनिदिनुस्, ‘म तिमीहरुकै हुँ । साँच्चै तिमीहरुकै हुँ, ‘एउटा असल र स्वाभिमानी छिमेकी !’ अनि भन्नुस्, म मात्रै होइन, कुनै पनि नेपाली तिमीहरुको दुश्मन होइनन् । सबैले असल छिमेकीको सम्बन्ध चाहन्छन् । कुरा यत्ति हो, आन्तरिक मामलामा छुस्स, छुस्स तपाईंहरुले हात हालेको हामीलाई मन पर्दैन । अन्तराष्ट्रिय मञ्चमा समान हैसियत राख्ने एक छिमेकी हुनुको नाताले ठूल्दाइ र सानो भाइको सम्बन्ध हामीलाई स्वीकार्य छैन ।

अब एजेन्डासहित जानुस्,
यसअघि तपाईंसहित सबै प्रधानमन्त्री भारत गएकै हुन् । कोही सुरु मै भारत गए, तपाईं प्रधानमन्त्री हुँदा चीनपछि भारत जानुभयो । तर, यसको कुनै तात्विक अन्तर थिएन ।

स्मरण छ, प्रतिपक्षमा रहँदा पनि तपाईं गत वर्ष भारत जानुभएको हो । मिति पनि याद छ । २०७२ साउनको १ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा तपाईंले भेट्नुभएको थियो ।

त्यसदिन बेलुका बिबिसीसँगको अन्तर्वातामा तपाईंले भन्नुभयो, ‘प्रधानमन्त्री मोदीसँग मैले यो विषय (लिपुलेक)लाई राखेँ । उहाँले नेपाल जाँदा कालापानी र सुस्ताको विषय ज्वाइन्ट्ली छलफल गरेर सदाको निम्ति हल गर्नुपर्‍यो भन्नुभएको थियो । त्यो प्रक्रिया टुंगो लगाउनुपर्नेछ । तपाईं चीन जाँदा लिपुलेकबारे भएको सहमतिमा हामीहरूको ‘कन्सर्न’ रहेको छ । यी विषयको समाधान होस् भन्ने हाम्रो चाहना छ भनेर मैले कुरा राखेँ ।’ हो, तपाईं र मोदीबीच लिपुलेकबारे कुरा भएकै हो । तर, मेरो स्रोतमा विश्वास गर्ने हो भने अर्को एउटा तथ्य पनि छ, जुन मिडियामा आएन ।

‘जब तपाईले मोदीसँग लिपुलेकको कुरा उठाउनुभयो, तब उनले फ्याट्टै भनिहाले, ‘त्यसो भए तपाईंहरुले खोजेको स्वामित्व के हो ? यस विषयमा के छ तपाईंको एजेण्डा ?’ त्यसपछि तपाईं नाजवाफ हुनुभयो । किनकी एजेण्डासहित जानुभएको थिएन ।’
हाम्रा प्रधानमन्त्री र नेताहरु भारत जाँदा प्रायले लिपुलेक, कालापानी र सुस्ताका कुराहरु उठाउनेसम्म कष्ट गरेनन् । केहीले उठाए, तर ठोस प्रस्ताव राख्न सकेनन् । गिजल्ने मात्रै काम भयो । अपरिपक्व कुटनीतिक व्यवहार भयो । अब गिजल्नेमात्र होइन, एजेण्डासहित जानुस् । १९५० को सन्धिमा हामीले चाहेको परिमार्जन के हो ? लिपुलेकमा हामी कुन प्रकारको स्वामित्व चाहन्छौँ ? सुस्ता र कालापानी समस्याको समाधान के हो ? आफूले उठाउने विषयमा स्पष्ट एजेण्डा र नेपालको प्रस्तावसहित जानुहोस् । यसका लागि नेपालमा व्यापक छलफल चलाउनुहोस्, विज्ञहरुको राय लिनुहोस् । जनताबाट सुझाव संकलन गर्नुहोस्, अनि नेपालीको साझा प्रस्ताव भारतसँग राख्नुहोस् ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
यो २१औं शताब्दी हो । ग्लोबलाइजेसनको युग हो । अब भारतलाई गाली गरेर र आफ्नै मालिक बनाएर बस्ने समय छैन । भारतले हामीले धेरै दु:ख दिइसकेको छ । उसले गरेका सहयोगहरु पनि बेलाबखत गर्ने बेइमानीले माटोमा मिलाएको हेक्का भारतलाई पनि हुनु जरुरी छ । तपाईंको यो ९ महिनाको अवधिमा नेपालले भारतप्रति हेर्ने स्पष्ट नीति बनाउनुहोस् । हाम्रा एजेण्डाहरु मोदीको टेबलमा पुर्‍याउनुस्, अनि गर्वसाथ भन्नुस्, ‘म एउटा स्वाभिमानी राष्ट्रको कार्यकारी प्रमुख हुँ । मेरा जनता तपाईंसँगको सम्बन्ध यस्तो परिमार्जन चाहन्छन् ।’
तपाईं यसकारण पनि तुरुन्तै भारत जानुपर्छ, किनकी अब आर्थिक विकास गर्न ढिला भइसक्यो । भारतलाई अब उसको भूमिका राम्रैसँग सम्झाउनुपर्छ, ताकि हाम्रो विकास र आन्तरिक मामिलामा अनावश्यक चासो नराखोस्, बरु दुईपक्षीय हितमा सहकार्यको हात बढाओस् ।

अनि मोदीजीलाई मेरो एउटा सन्देश पनि सुनाइदिनुस्,

‘मोदीजी तपाईं स्वयम् गएर नेपालको प्रधानमन्त्री बन्नुभयो भने पनि आफूले चाहेकोजस्तो मात्र गर्न सक्नुहुन्न, अरुले त परको कुरा । किनकी अहिले जनता निकै सचेत भइसके । सिंहदरबारमा साउती मारेको कुरा, एकघण्टा नबित्दै जुम्लाका जनताले थाहा पाउँछन् । सबैको हातहातमा मोबाइल छ । गल्ली-गल्लीमा एफ.एम रेडियो खुलेका छन् । सायदै त्यस्तो कुनै ठाउँ होला, जहाँ टेलिभिजनको पहुँच नपुगेको होस् । हाम्रो देशमा अरु केहीको विकास नभए पनि सञ्चार र शिक्षाको विकास सन्तोषजनक छ । जनताहरु शिक्षित भइसके, खबरहरुसँग उनीहरुको निकै राम्रो पहुँच छ । जनताको मन नजिती केही गर्न सम्भव छैन् । किनकी सबै नेपाली देशप्रेमी छन् ।’

विचलित नहुनुस् प्रधानमन्त्रीज्यू,

दुनियाँले म्यादी भने पनि यो नौ महिना तपाईं हाम्रो देशको प्रधानमन्त्री हो । तपाईं सफल हुँदा देश सफल हुन्छ, असफल हुँदा यो महिना मात्र खेर जाँदैन देश वर्षौंपछाडि धकेलिने खतरा छ । त्यसैले अरुले साथ दिउन्, नदिउन् उनीहरुको कुरा, म यो अवधि तपाईंको साथमा रहनेछु ।देशको हितलाई शिरमा राखेर काम गर्नुस्, साथ दिनेहरु बढ्दै जानेछन् । #IamwithPM



रामचन्द्र भण्डारी
धादिङ, हाल काठमाडौं

Source sajhapost
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment