जीवन–जोया काण्ड : इन्टरनेट चलाउन नआउनेलाई साईबर क्राइम मुद्दा

काठमाडौं । तीन महिनाअघि विश्वभरका नेपालीलाई उद्धेलित बनाएको जीवन–जोया काण्डमा इन्टरनेट चलाउनै नआउने कामे मगरलाई समेत साइबरक्राइमको मुद्दामा थुनामा राखिएको छ ।

फिलिपिनी युवती जोयाको बिजोग देखाई चितवन निवासी उनका पति जीवन थापामगरबाट अन्यायपूर्वक तीन महिनाअघि आदर्श गृहका सञ्चालिका मिना खरेलले फर्काइएको पाइएको थियो ।

जोया फिलिपिन्स फर्किएको हृदयविदारक भिडियो र समाचार भाइरल बनेपछि सत्यतथ्य बाहिर ल्याउन सघाएका जीवनका मामा कामे मगरलाई पछिल्लो समय साइबरक्राइमको अभियोगमा थुनामा राखिएको हो । उनीसँगै पत्रकार महेश रानामगरलाई सोही मुद्दामा काठमाडौंको हनुमान ढोकामा थुनिएको छ । दुवैलाई ७ दिन म्याद थप गरी सोधपुछका लागि थुनामा राखिएको छ ।

आदर्श गृहका सञ्चालिका मिना खरेलको उजुरीका आधारमा पाँच दिनअघि चितवन प्रहरीले पक्राउ गरेको थियो । फिलिपिन्समा कानुनी र धार्मिक विधिअनुसार विवाह सम्पन्न गरेर गत ११ सेप्टेम्बरमा नेपाल फर्किएका जीवन र जोयालाई नेपाली कानुनअनुसार विवाह दर्ता गर्न जाँदा पक्राउ गरिएको थियो । पक्राउपछि दम्पत्तिलाई चार घन्टा हिरासतमा लिई छाडिएको थियो । तर, उनका मामा कामे मगर र पत्रकार महेश रानामगरलाई चितवनबाट काठमाडौं पठाइएको थियो । उजुरी दर्ताबारे आदर्श गृहमा सम्पर्क गर्न खोज्दा कोशिस असफल भएको छ । यता प्रहरीले यस विषयमा मुख खोल्न मानिरहेको छैन ।

यद्यपि, उनीहरु पक्राउ परेलगत्तै नेपाल मगर संघले बिनाशर्त रिहाईको माग गर्दै आईरहेको छ । संघका अध्यक्ष नवीन रोकामगरले घटनाबारे स्थलगत प्रतिवेदन आइसकेकाले गैरन्यायिक हिरासतमा राखिनु सामन्ती प्रवृत्ति रहेको जनाएका छन् ।

पत्रकार रानामगरलाई रिहाई गर्न आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले यसअघि नै विज्ञप्ति जारी गरिसकेको छ ।

हाल हिरासतमा रहेका दुवैको रिहाईको लागि मगर कानुन व्यवसायी संघ पैरवीमा लागेको छ । यसको नेतृत्व रामबहादुर थापामगरले गरिरहेका छन् ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment